रुपनी जि.एम, बाँके । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनीधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोर निर्वाचित भएका छन् । नेकपा एमालेका नेता किस्मत कक्षपतिलाई फराकिलो मतान्तरले हराउँदै उनी उक्त क्षेत्रबाट प्रतिनीधि सभा सदस्य बनेका हुन् । बर्दिया क्षेत्र नं. २ उनको राजनीतिक क्षेत्र भएतापनि यस पटक गठबन्धनले गर्दा उनलाई बाँके क्षेत्र नं. ३ बाट चुनाव लड्नु पर्यो ।
उनी आफैपनि बाँके बासी भएतापनि राजनीतिक पहिचानका हिसाबले उनकालागि उक्त चुनावी क्षेत्र र जनता दुबै नै नयाँ थियो । त्यसैले उनलाई यो चुनाव जित्न मेहेनत त गर्नै पर्यो । यसका बाबजुद उनी गठबन्धनले गर्दापनि चुनाव जित्नेमा विश्वस्त थिए । तर उनको भनाई अनुसार उनले आँकलन गरे अनुसारको मत नआएको उनी बताउँछन् ।
नेविसंघदेखि राजनीति गर्न शुरु गरेका उनै रोठर जस्ले राजनीतिमा आफ्नो ४ दशका छन् । विद्यार्थी राजनीतिबाट चिनिंदै आएका किशोर सिंह राठोर आजपनि उस्तै जोश र जाँगरका साथ जनताको काम गर्छु र केही त परिर्वतन गररै छाड्छु भन्ने अठोटका साथ राजनीतिमा आफ्नो एउटा पहिचान बनाउन सफल भएका छन् । उनै राठोरसंग हिमालय न्यूज हबले जितेपछि गरेको कुराकानीको केही अंश तल प्रस्तुत गरिएको छ ।
जनताले सांसद बनाई सके, सरकार तपाईहरुकै छ, मन्त्री बन्ने सोंचमा त हुनु हुन्छ होला नि ?
मन्त्री मेरो प्राथामिकता होईन । पार्टीले आवश्यक सोंच्यो भने मलाई अवश्य नै दिन्छ । र पार्टीले मलाई त्यसको आवश्यकता महसुस गरेर मलाई जिम्मेवारी दियो भने म त्यो जिम्मेवारीलाई बखुबी निभाउने छु । राम्रो गर्ने प्रयत्न गर्नेछु । मैले विज्ञहरुसंग सल्लाह गरेर म अघि बढ्नेछु । त्यसमा म कुनै दुई मतको करा छैन । तर मलाई मन्त्री बनाउनु पर्यो भनेर म मन्त्री पद माग्न कसैसंग पनि जाँदिन ।
तपाईँ त धेरै पटक चुनावी मैदानमा उत्रीएको नेता, यस पटक चुनाव जित्नु भन्दा पहिला र जीतेपछिको तपाईको मनोदशा कस्तो भयो ?
फरक त पक्कै हुन्छ नै । उमेदवार भएर चुनावी मैदानमा होमिंदा जीत हार के हुन्छ होला ? जनताले मलाई भोट दिन्छन् या दिंदैनन् ? मैले जनतासम्म मेरा कुरा पुर्याउन सकें सकिन ? यस्ता कुराहरुमा एक प्रकारको चिन्ता त हुन्छ नै । साथै चुनाव जीतिसकेपछि भने जनतासंग आफुले बोलेका कुराहरु पुरा गर्न सक्छुु या सक्दिन ? सकें भनेपनि एजेण्डामा राखेका सबै कुरा पुरा हुन्छन् या हुँदैनन् ।
जीतेपछिको जनताको अपेक्षा नै धेरै माथिको हुन्छ । उहाँहरुको त्यो अपेक्षा अनुसारको काम हुन सक्ला कि नसक्ला आदि ईत्यादि कुराहरुले एकप्रकारको चिन्ता हुन्छ नै । फेरी अहिले त सरकार एक्लो छैन । गठबन्धनको सरकार छ जस्ले गर्दा आफ्ना मात्रै कुरा पुरा हुनै सक्दैन । तरपनि मेरो प्रयास अबको पाँच वर्षमा मेरा सबै एजेण्डाहरु पुरा गर्नकालागि सधैं रहनेछ ।
तपाईँ निर्वाचित हुनु भएको तपाईँको क्षेत्रकोलागि पहिलो काम कुन एजेण्डाबाट शुरु गर्नु हुन्छ ?
म निर्वाचित भएको क्षेत्र भनेको बाँकेको क्षेत्र नं. ३ हो । र त्याहाँ मैले देखेको मुख्य समस्या भनेको सुकुम्बासीको समस्या हो । ०२४ सालदेखिको सुकुम्बासीको समस्याले त्याहाँका जनतालाई वर्षौंदेखि जकडेर राखेको रहेछ । जस्का लागि पालिका र भूमि आयोगसंग समन्वय गरेर सुकुम्बासीका समस्या गर्न तिरै म लाग्नेछु यो मेरो पहिलो काम सुकुम्बासीको समस्या समाधान गर्नकैलागि हुनेछ ।
त्यसपछि मैले सिंचाईलाई प्राथामिकतामा राखेको छु । सिक्टा सिंचाई आयोजना शुरु भएको दशौं वर्ष भई सक्दापनि त्यसको नहन विस्तार भएको छैन । त्याहाँ गरिब किसानहरु बस्ने भएको हुनाले त्यो नहरलाई विस्तार गर्ने कुरामा म लाग्नेछु । र बैजनाथमा त त्यो नहरको प्रभाव क्षेत्र नै पर्ने रहेनछ ।
त्यसैले यदि मान खोलालाई हाईड्याम बनाएर सिंचाई गर्न सकिन्छ भने म त्यतातिर लाग्नेछु । त्योपनि यदि भएन भने लिफ्ट सिंचाई आयोजना गरेर हुन्छ या बोरिंग सिंचाई आयोजनाको कामलाई अघि सारेर हुन्छ यो त्योपनि भएन भने स्यालो ट्यूबेल हालेर हुन्छ बैजनाथमा म सिंचाई गरेरै छाड्ने छु ।






