डडेल्धुरा । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहेका छन् ।
स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा छन् । योपनि बझाङमा भोलि मंगलबारदेखि मतगणना सुरु हुने भएको छ । जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ । केही क्षेत्रबाट भने आज सोमबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो ।
हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । जिल्ला भरी ५२ प्रतिशत मत खसेको छ ।






