बर्दिया । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बर्दियामा छिटपुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । तिन लाख १५ हजार दुइ सय चौरासी मतदाता रहेको बर्दियामा ६२.६४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गते आईतबार बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण ढंगबाट साँझ ५ बजे सम्पन्न भएको हो ।
मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले आज (सोमबार) बिहान १० बजे देखि मत गरणा हुने बताए । सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । यो निर्वाचन गत स्थानीय तहको चुनावमा जस्तो मतदाताहरूको उत्साहप्रद सहभागिता नभएको पाइएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो । स्थानीय तह निर्वाचनपछि बर्दियामा मृत्यु भएकालाई हटाएका समेत गरि ३ हजार ८ सय ७४ नयाँ मतदाता बढेका हुन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि हिजो सम्पन्न भएको निर्वाचनमा बर्दियाका केही पालिकाका ४ ठाउँमा ५ ओटा शंकास्पद बस्तु तथा प्रेसर कुकर बम फेला परेतापनि कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को अम्रेनी नजिक राजमार्गमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो । यस्तै ठाकुरबाबा नगरपालिकाको अम्रेनी, राजापुर नगरपालिकाको धोविनपुर गुलरिया नगरपालिकाको खैरापुर र बढैयाताल गाउँपालिकाको जगतीयामा गरी ४ ठाउँमा फेलापरेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।
गुलरिया नगरपालिका वडा नम्बर २ खैरापुरको शम्भुशरण माध्यामिक विद्यालयको मतदान केन्द्र हाताभित्र बम बिस्फोट भएपछि झण्डै एक घण्टा मतदान कार्य स्थगित भएको थियो । बम पड्किएपछि मतदाताहरूको भागाभाग भएको थियो । नेपाली सेना र प्रहरीले खान तलासी गरिसकेको एक घण्टापछि पुनः मतदान सुरु भएको थियो ।
बर्दियामा ६२.६४ प्रतिशत मतदान, मतदान शान्तिपुर्ण ढंगबाट सम्पन्न
बर्दियामा ६२.६४ प्रतिशत मतदान, मतदान शान्तिपुर्ण ढंगबाट सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






