झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते हुने चुनावमा नेकपा एमालेको नै जीत हुने बताएका छन् । उनले राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता ? भन्दै जनतालाई प्रश्न गरेर आफैले यो निर्वाचनमा एमालेलाई कुनै प्रकारको गठबन्धनले फरक नपार्ने र एमालेलाई हराउन गठबन्धनको कुनैपनि तागत नलाग्ने बताए ।
नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले आज बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आफ्नो क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनावमा तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई पनि जिताउन उनले आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मङ्सिर ४ गतेको चुनावले देश र नागरिकको भाग्य र भविष्यको फैसला गर्ने भन्दै नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले आज बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना पूरा गर्न पनि देशका सबै क्षेत्रबाट एमालेले जित्नुपर्ने स्पष्ट पारे ।
ओलीले नागरिकको मन र संसदबाट एमालेलाई ढाल्न नसकेर अन्य दलहरू गठबन्धन बनाएर चुनावमा आएको भन्दै गठबन्धन नाममात्रैको भएको टिप्पणी गरे । भन्नलाई पाँच दलीय गठबन्धन भने पनि खासमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको मितेरी साइनोमात्र भएको ओलीको भनाइ थियो ।
देउवा र प्रचण्डलाई एकै रङको चराको संज्ञा दिँदै अध्यक्ष ओलीले गठबन्धनलाई अझ बलियो बनाएर चुनावी प्रतिस्पर्धामा आउन चेतावनी दिँदै जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत नलाग्ने दाबी गरे । अध्यक्ष ओलीले रैथाने भएकै कारण चुनाव जित्ने कल्पना नगर्न भन्दै अग्निप्रसाद खरेल काम गर्न सक्ने, केन्द्रमा नीति निर्माण गर्न सक्ने तथा त्यसको कार्यान्वयन गर्न र सरकारमा मन्त्रीसमेत बन्न योग्य भन्दै खरेललाई एमालेले उम्मेदवार बनाएको उनले बताए ।






