रुपनी जि.एम, बाँके । २०२६ बैशाख १५ गते सल्यान, बडागाउँमा जन्मेका किशोरसिंह राठौर काठमाण्डौमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । उनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको सह महामन्त्रीको पदमा पुग्न सफल भए । झण्डै ४ दशक लामो राजनीतिक यात्रामा यतिबेला उनी फेरी चुनावी मैदानमा उत्रिएका छन् ।
आसन्न मंसिर ४ गते हुन गई रहेको निर्वाचनमा उनी बाँके निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट एक मात्र पदाधिकारी राठौर प्रत्यक्षतर्फ संसदको यात्रा तय गर्ने क्रममा छन् । नेपालगन्ज घर भएका राठौर पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाले नेपालगन्जबाट चुनाव लडिरहकाले बर्दियाको राजापुर क्षेत्रलाई चुनावी क्षेत्र बनाएर राजनीति गरिरहेका थिए ।
तर यसपटक गठबन्धनमा बर्दिया–२ माओबादीलाई परेपछि उनी क्षेत्र बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । हक्कि र जुझारु संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनै राठोरसंग हिमालय न्यूज हबले गरेको कुराकानी तल उल्लेख छ ।
प्रचार प्रसारको आज अन्तिम दिन, आजसम्मको अभियान कस्तो रह्यो ? र कसरी अगाडी बढिरहेको छ ?
जनताको घर दैलोमा पुगी रहेको छु । मतदाताको कुराहरु सुन्दैछु । जनताहरुमा आशा कम निराशा बढि भएको पाई रहेको छु । बर्दियाबाट राजनीति गरेको मैले आजको समयमा बाँकेको क्षेत्र नं. ३ मा चुनाव लड्दै गर्दा जनतालाई आफ्ना बारेमा भन्दै हिंडेको छु । त्यही त हो नि । यसरी जनतासम्म पुगी रहंदा उहाँहरुमा राजनीति र राजनीति गर्ने नेताहरु प्रति बितृष्णा पाई रहेको छु । यसका बाबजुद पनि निर्वाचन हो, मतदाताहरुमा उत्साह भएको पनि पाएको छु । काग्रेस केवल विकासको मुद्धा बोक्ने मात्र बिकास गर्ने बाटो पनि बनाउने पार्टी हो भनेरे जनतालाई भन्दै गर्दा जनताले मेरो कुरामा विश्वास व्यक्त गरेको महसुस गरेको छु ।
तपाईँलाई त टुरिष्ट नेता भनेर पनि प्रचार गरीयो, यस्ले जीतलाई प्रभाव पार्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?
यो साँचो हो । क्षेत्र नम्बर ३ बाट चुनावमा होमिइरहँदा मलाई टुरिष्ट नेता भनेर प्रचार गरीएकै हो । तर म भन्छु मलाई चिन्दै नचिनेर, जान्दै नजानेर अनि बुझ्दै नबुझेर मेरा बारेमा गलत कुराहरु प्रचार गर्नेलाई के भनेर दोष दिनु र ? म माथि एउटा सवाल पनि उठाइयो–टुरिष्ट नेता भनेर प्रचार गरीयो । सुशिल दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले वर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको थिए । तर गठबन्धनको बाडफाड गर्दा यो क्षेत्रमा मैले अवसर पाएँ ।
भेटघाट र सक्रियतापछि भरोसामा परिणत हुँदै गयो । सबै आंकाक्षीहरु अहिले काँधमा काँध थापेर प्रचार–प्रसारमा डटेका छौं । मैले टिकट पाए लगत्तै मेरा बारेमा अनरर्गल प्रचार गरेतापनि त्यसले मेरो जीतलाई केही फरक पार्दैन । त्यस कुराले त मलाई निर्वाचनमा झनै सहज भएको छ । त्यो गलत प्रचारले नै जनताले मेरो बारेमा बुझ्ने र जान्ने मौका पाए । जस्ले गर्दा मलाई नै त्यसको फाईदा भएको मलाई लागेको छ ।
राजनीतिको उद्गम थलो नै बर्दिया बनाएर बर्दियामा सक्रिए रहेको तपाईंलाई यहाँका जनताले किन मत दिने ?
यो एकदमै राम्रो प्रश्न गर्नु भयो । म यही मिडिया मार्फत भन्न चाहान्छु कि बाँकेमा मलाई किन र केका लागि मत दिने भनेर । म भन्दछु यदि बाँके बासीले साँच्चै नै बाँकेको विकास चाहेका हुन् भने मलाई जिताउनुको कुनै विकल्प नै छैन । नेबिसंघ बाटै राजनीति गर्दै मैले बाँके बर्दियाको बिकासका लागि गरेको काम मैले खेलेको भुमिका नै मेरो जीतको आधार हो । हिजो आएर आज टिकट पाएको मान्छे होईन ।
पार्टीमा सहमहामन्त्रीको पदमा बसेर जिम्मेवारी सम्हालेको नेता हुँ म । यो ठाउँसम्म पुग्नलाई हिजोको आज नै समय खर्चिएर पुग्दैन । यो कुरा जनताले राम्रैसंग बुझेका छन् । मैले काठमाण्डौमा नै राजनीति गरेर बस्न सक्थें । तर मैले जनताको साथ र उहाँहरुको घरदैलो छोड्न चाहिन । जनताको दुंखसुखमा साथ दिने अठोट गरें र म आफ्नै ठाउँबाट राजनीति गर्न भनेर जिल्लामा नै फर्किंएँ ।
बाँके र बर्दिया दुबै छिमेकी जिल्लामा बसेर सेवा गरें । यही नै मेरो जितको आधार हो । सदरमुकामसंग, मुलुकसंग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पुल बनेको छ । त्यहाँको बाटो, सिंचाई र तटवन्ध लगायत जति विकास भएको छ । त्यो मेरै नेतृत्व र पहलमा भएको हो । तर, यसपाली गठवन्धनका कारण मैले राजापुर क्षेत्र छाड्नु परेको हो । त्यो क्षेत्र छोड््नु पर्दा मनमा दुःख लागेतापनि मैले बाँके बनाउने अवसर पाएको छु यस कुराले मलाई सन्तुष्टि दिएको छ ।
तपाईँले यसरी भनि रहंदा तपाईको जीतको आधार के के हुन् त ?
मेरो जीतको आधारमा पहिलो नम्बरमा नेपाली काग्रेसको संठन बलियो छ र हामीसंग जनाधार बलिया छन् । दोश्रो नम्बरमा हामी गठबन्धनको साथ र सहयोगमा छौं । यसपाली अभूतपुर्व एकता देखिएको छ । यो नै हाम्रो जीत हो । हामीले यस्लाई जीतको रुपमा हेरी सकेका छौं । संगठन निर्माण, नेता÷कार्यकता परिचालन र आवश्यक निर्देशनले समेत माहोल कँगे्रसको पक्षमा जँदैछ । सुशिल दाईको निधन पछि टुहुरो सरह भएको महसुस गरिरहेका काग्रेसीहरुले यतिबेला अभिभावकत्व पाएको महसुस गर्दैछन् ।
बर्दियामा राजनीति गरेर अहिले बाँकेमा उम्मेदवार बन्नुभएको छ, सजिलो÷अप्ठ्यारो कस्तो महसुस गरी रहनु भएको छ ?
मैले अघि पनि भनें बर्दिया छाड्नु पर्दा मलाई दुःख लागेको छ । यसका बाबजुद मैले पार्टीको निर्णयलाई मान्ने पर्ने हुन्छ । र पार्टीको निर्णय अनुसार गठबन्धनले गर्दा म यो निर्वाचनमा बाँकेको क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्यका लागि उमेदवार भएको छु । यदि नितान्त मेरो चाहाना सोध्नु हुन्छ भने म राजापुर क्षेत्रमै चुनाव लड्ने मनसायमा थिएँ र त्यो वातावरण बनाउन पनि सक्थें । तर पार्टीको निर्णयलाई नै सर्वोपरी भएको हनाले नै बाँके क्षेत्र नम्बर ३ लाई सहर्ष स्वीकार गरें ।
नेपाली नागरिक जोसुकै किन नहोस् जहाँबाट पनि उठ्न पाउने संवैधानिक अधिकार छ । मेरो घर बाँके र बर्दिया दुबै ठाउँमा छ र नेताको कुनै भुगोल हुदैन् । यो पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निर्वाचन क्षेत्र हो । बर्दियाको राजापुर क्षेत्रलाई चुनावी क्षेत्र बनाएर राजनीति गरिरहे पनि बाँके बर्दियाको बिकासमा लागे । तर,यसपटक गठबन्धनमा बर्दिया–२ माओवादीलाई परेपछि म बाके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछु । जनताको उत्साह र साथ भरपुर छ ।
भोट माग्न जाने प्राय नेताहरुले जनतालाई विभिन्न प्रकारका आश्वासन दिने गर्दछन्, तपाईँले चैं के के आश्वासन, योजना सुनाइरहनु भएको छ ?
मैले जनता संग कुनै झुटा आश्वासन बाडेको छैन् । मैले गर्न सक्ने यो ठाउँको बिकासका लागि खेल्न सक्ने भुमिका सुनाइरहेको छु । बँके क्षेत्र नम्बर ३ नेपालगन्जको काखमा रहेर पनि पछाडि परेको र विकासको मूल प्रवाहमा आउन सकेको क्षेत्रका रुपमा रहेको उनको बुझाई छ । सो क्षेत्र दलित, अल्पसंख्यक आदिवासी, मधेशी, मुस्लिम लगायत मिश्रित समुदाय बसोबास क्षेत्र हो । धम्वोझीदेखि राजापुरसम्म फोरलेन सडकको विस्तार हुदैछ ।
परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने, बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने पनि प्रतिवद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने, मानखोलामा तटवन्ध गर्ने लगायतका योजना छन् ।
जित्छु नै भनेर दाबि गरिरहनु भएको छ, जित्नु भयो भने तपाईंको यो क्षेत्रमा बिकासको योजना के कस्ता छन् ?
जनताको वास्तविक माग के हो, त्यो सुनेको छु । नेताले बुझेर मात्रै बोल्नु पर्छ । नेताले गर्न सक्ने काम गर्छौं भन्नुपर्छ । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो । अहिले सो क्षेत्रमा नियमित घर दैलो, कोण सभा भइरहेका छन् । मेरो आफना छुट्टै योजना छैनन्, जनताकै एजेण्डा नै मुख्य एजेण्डा हुन् । १० वर्षदेखि एमालेले जितेको क्षेत्र नम्बर ३ को अपेक्षाकृत विकास हुन सकेन् । तथापि अब आफूले जितेमा सो क्षेत्रको समग्र विकास गर्ने संकल्प छ् । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने योजना छ । कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रको विकास पनि जरुरी छ ।
गठबन्धन आफैमा एउटा आन्तरिक द्धन्द्धमा रहेको छ, यस्ले तपईँलाई असर पार्छकी पार्दैन् ?
यो साँचो हो कि गठबन्धनकै कारण पार्टी भित्र आन्तरिक द्धन्द्ध भएकै हो । र यो लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि हो । तर यो पञ्च वर्षे योजना बनाउने र संगठन बलियो बनाउने मौका पनि हो । जस्ले गर्दा जति नै सुकै आन्तिरक द्धन्द्ध भएतापनि त्यसले निर्वाचनलाई असर पार्छ जस्तो मलाई लाग्दैन । शुरुशुरुमा थारै दुःख र मन मुटाव भएपनि । केन्द्रिय नेताले चासो नदिएपछि बिबाद समाधान हुन नसकेको कुरा पनि यर्थाथ नै हो । आफ्नै पार्टीका आकाक्षीहरुबीच पनि एक प्रकारको अन्यौलता र निराशा जस्तो देखियो । तर अहिलो त्यो छ जस्तो मलाई लाग्दैन ।






