बाँके, नेपालगञ्ज । नेकपा एमाले बाँकेका उपसचिव दिपक वर्माले जनता समाजबादी पार्टी (जसपा) का नेता एवं पूर्वमन्त्री इस्तियाक राईद्धारा गरिएको बाँकेको समग्र विकास आफु मन्त्री हुँदा नै गरिएको भन्ने झुटा प्रचार गरेर जनतालाई भ्रमित नपार्न चेतावनी दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन मार्फत उपमहानगरपालिकाको बैठक तथा निर्णयहरुको प्रमाण समेत सार्वजनिक गर्दै निर्वाचनको मुखमा पुर्वमन्त्री राईलाई विकासका कुरामा गलत प्रचार प्रसार गरेर जनतालाई भ्रमित नपार्न चेतावनी दिएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष समेत रहेका वर्माले विकासमा नाममा मतदातालाई भ्रमित पार्न झुटको प्रचार गरेको पुष्टि गरेका छन् । पत्रकार सम्मेलनमा बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले विकासको नाममा जनताको भोट प्रभावित पार्न गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको कुरालाई प्रमाण सहीत पुष्टि गरेका हुन् ।
वडाध्यक्ष वर्माले निर्वाचनको प्रचारप्रसारका क्रममा सार्वजनिक रुपमा चुनावी प्रचारपत्र र भाषणमा मार्फत नेपालगञ्जको समग्र विकास गरेको भन्ने भ्रामक सन्देशले यस क्षेत्रका जनतालाई कुनैपनि किसिमले प्रभाव नपर्ने समेत बताए । उनले भने,‘जसपाका नेता ईस्तियाक राईले नेपालगञ्जमा भएका सबै विकासका कामहरु आफु मन्त्रि हुँदा नै गरेको भन्दै जुन प्रकारले झुठो प्रचारप्रसार गरेर जनतलाई भडकाउने प्रयास गरिरहेका छन् यस्ले जनतालाई कुनैपनि किसिमले पभाव पार्न सक्दैन । किनभने जनताले बुझेका छन् उनले के कस्तो खालको विकास गरेका छन् भन्ने कुरा । झुटको खेती गरेर जनताको मनमा बस्ने प्रयास नगर्दा नै राम्रो हुन्छ ।’
पुर्वमन्त्री राईले आफुले गरेका र गर्न लागेको भनि प्रचारबाजी गरिएका अधिकांश सडक तथा विकासे योजनामा उनको कुनै भूमिका नै नभएको वडाध्यक्ष वर्माले स्पष्ट पारेका थिए । उनले भने,“चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री राईले हुँदै नभएका र आफ्नो कुनै योगदाननै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गर्नुभएको छ यो सरासर जनताको आखाँमा छारो हाल्ने भई रहेको छ ।” नेता बर्माले अगाडी भने,“नेपालगञ्ज उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना भन्नु कहाँ सम्मको झुट हो ?”
नेपालगन्ज –१८ कारकाँदोमा वडा कार्यालयको बजेटबाट लगाईएका हाइमास्ट र सडकलाई समेत पूर्व मन्त्री राईले चुनावी प्रचारपत्र र भाषणमा आफूले गरेको भनाईप्रति वडाध्यक्ष बर्माले आक्रोश व्यक्त गरे । वडाध्यक्ष वर्माका अनुसार राईले हुँदै नभएका र गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन अवस्थामा रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेका छन् ।
यसरी जनतालाई झुक्याउँदै मत मागिरहेका राईप्रति बाँके क्षेत्र नम्बर–२ का जनता आक्रोशित बन्न थालेको कुरा पनि उनले पत्रकारहरुलाई जानकारी गराएका थिए । मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेको वडाध्यक्ष वर्माको भनाई थियो ।






