नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष एवं नेपाली कंग्रेस महासमिति सदस्य नरेन्द्र चौधरी (पप्पु) ले विकासे नेता भनेर चिनिएका जनता समाजबादी पार्टी (जसपा) का नेता एवं पुर्वमन्त्री ईस्तियाक राईलाई विकासे नेता भनेर प्रचार गर्नुको आधार र मापदण्ड बारे प्रश्न गरेका छन् । मंगलबार अवधी पत्रकार संघले बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष चौधरीले आफ्नो पालिकामा सय मिटरको सानो बाटो समेत नबनाएका पुर्व मन्त्री राईलाई कुन मापदण्डको आधारमा विकासे नेता भनिएको भनेर प्रश्न गरेका हुन् ।
उनले भने,‘सामाजिक सञ्जालमा लाखौं रकम खर्च गर्दै जनतालाई भ्रमित गर्ने काम बाहेक अरु केही पनि नगरेकालाई केका आधारमा विकासे नेता भनिएको हो ? फेसबुकमा विकासमा कुरा गरेर विकास हुन्छ ? कंग्रेस नेता सुशिल कोईरालाले बाँके जिल्लामा बजेट ल्याएर सिटिभिटि, मेटिकल कलेज, एडिबी जस्ता ठूला परियोजना ल्याएकै हुनाले बाँकेको विकास भएको हो । अरुले गरेको विकासलाई मैले गरेको हो भन्न लाज लाग्दैन ? झुटको खेती गर्नुको पनि सिमा हुन्छ ।’ उनले आक्रोश व्यक्त गर्दै भने,‘विकास के बाटो र भवन उद्घाटन र शिलन्यासमा मात्रै हुन्छ ? शिक्षा, स्वास्थ्य, रोजगार, कृषि यी कुराहरुमा खै विकासले फड्को मारेको ? त्यसै विकासे नेता भनेर भ्रम फैलाउन पाईन्छ ?’
स्थानिय निर्वाचन सम्पन्न भएको ६ महिना बिति सक्दापनि उक्त पालिकामा हालसम्म गाउँ सभा नभएको पालिका अध्यक्ष चौधरीले जनाकारी गराए । उनका अनुसार सो पालिकामा गाउँ सभा हुन नदिनमा मुख्य भूमिका जसपा र नेकपा एमालेको रहेको छ । उनले भने,‘स्थानिय निर्वाचन सकिएको ६,६ महिना बितेको छ आजसम्म हाम्रो पालिकामा गाउँसभा भएको छैन । गाउँसभा हुन नदिनमा जसपा र जसपाको छायाँमा नेकपा एमालेका नेताहरुको हात रहेको छ भन्ने कुरा जनताले बुझेका छन् । तर रोकिएको गाउँसभाकै कारण हामीलाई बजेट पास हुन नसक्दा काम गर्न अलिअलि मात्रै हैन निकै नै गाह्रो भईरहेको छ । विकासे नेताले गाउँसभा हुन दिन रोक्छ त ? पक्कै रोक्दैन । अनि उनलाई के आधारमा विकासे नेता भन्ने ?’
डुडुवा गाउँपालिकालाई बन्धक बनाउने प्रयासमा जसपाका नेता एवं पुर्व मन्त्री ईस्तियाक राईको नेतृत्व नै लागि परेको अध्यक्ष चौधरीले आरोप लगाए । राई आसन्न मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनका बाँके क्षेत्र नं. २ का प्रतिनीधि समेत हुन् । पालिका अध्यक्ष चौधरीका अनुसार पटक पटक मिटिंग बोलाउँदा जसपा र एमालेका जनप्रतिनीधिहरुद्धारा मिटिंग स्थगीत गरिन्छ । गाउँसभा हुन नसक्नुको कारण खुलाउँदै पत्रकारहरुलाई स्पष्ट पार्दै उनले भने‘कार्यपालिकामा हाम्रा निर्वाचित जनप्रतिनीधिको संख्या जम्मा ३ हो भने विपक्ष पार्टीहरुको संख्या ११ छ । त्यही जमात नै विकासे नेताको ईशारामा चलेर गाउँसभामा बाधा अड्काउ गरिरहेका छन् । जस्ले गर्दा डुडुवाको समग्र विकासमा बाधा पुगी रहेको छ ।’
राजनीति माहोल आफ्नो पक्षमा पार्नलाई जुन उद्येश्यले गाउँसभा हुन दिईएको छैन त्यसले सिंगो डुुडुवा बासी नै सेवा सुविधा पाउनबाट बञ्चित भईरहेको अध्यक्ष चौधरीले बताए । उनका अनुसार गाउँसभा हुन नसकेकै कारण बालबिकास केन्द्रमा पढाउने शिक्षिकाहरुले समेत सामान्य दश हजार मासिक पाउन नसकेको कुरा सुनाए । अध्यक्ष चौधरीले हरेक प्रकारका राहत कोषहरु रोकिएको बताउँदै कुनै विषयमा पनि बजेट पास हुन नसक्दा सिंगो पाालिकाले नै संकटको मार खेपी रहेको बताए ।






