काठमाण्डौ । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्बिरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ुफोटो प्रतियोगिता–२०७९ु सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली सेनाले विगतमा आन्तरिकरूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकोमा गएको वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो । यस प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्बिरहरू आउँदो मङ्सिर १४ गतेभित्र नेपाली सेनाको
आधिकारिक बेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्बिरहरूलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः
५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज बिहीबार एक सूचना जारी गरी जनाएको छ ।






