झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभइ ज्ञान र सीपबाट मात्र हुने बताएका छन् । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज बिहीवार दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए ।
अध्यक्ष ओलीले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए । अध्यक्ष ओलीले भन्नुभयो, ‘आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ।’ लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उनले जोड दिए ।
नेपालमा संविधान र कानुनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उनको भनाइ छ । ओलीले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्य तहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताए । उज्यालोबाट ।






