मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजबादीका नेता खतिवडामाथि आज मङ्गलवार हातपात भएको हो ।
एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लिनेबित्तिकै हेटौँडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका थिए । मनहरी गाउँपालिका ४ गोलघरमा सत्तारूढ गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि हातपात भएको हो ।
खतिवडालाई गठबन्धनमा आबद्ध कार्यकताले हातपात गरेको बताइएको छ । हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
नेकपा एकीकृत समाजबादीका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधि सभातर्फ सत्तारूढ गठबन्धनका संयुक्त उम्मेदवार छन् । खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा सांसदमा निर्वाचित भएका थिए ।
सांसद भएको ३० वर्षपछि उनले स्वास्थ्य मन्त्री बन्ने अवसरसमेत पाउनुभएको थियो । चार पटक सांसद बन्नुभएका खतिवडा पाँचौँ पटक सांसद बन्ने दौडमा छन् । प्रारम्भिक अनुसन्धानमा हातपात गर्ने व्यक्तिले रक्सी खाएका र खतिवडासँग पुरानो रिसइबीसमेत रहेको बताइएको छ ।






