रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आउँदो चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ बुटवलमा आज बुधवार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पालिका चुनाव सम्पन्न गर्न सबैको सहयोग रहेकाले आउँदो चुनाव पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने बताए ।
उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे । नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने काममा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद दिए ।
‘सीमित स्रोत साधन भएर पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ’, गृहमन्त्री खाणले भने । सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आउँदो चुनावबारे छलफल हुने जनाइएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको प्रस्तुति रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।






