काठमाण्डौ । काठमाण्डौका मेयर बालेन शाहले समाजमा घट्ने जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउनु भनेको अर्को अपराध गर्नु बताएका छन् । आज बुधबार काठमाण्डौमा आयोजित काठमाण्डौ महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफलु कार्यक्रममा बोल्दै मेयर शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताए ।
जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उनले बताए । उनले भने,‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरू मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरू चाँहि ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न ।
एकदमै जघन्य अपराध भएका कुराहरूलाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन । त्यस्ता अपराध अदालतमै जानुपर्छ । त्यस्ता विषयमा फेरि भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैँमा इमानदार हुनुपर्दछ ।’ मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसा लगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताए ।
मेयर बालेन्द्र शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने उनको भनाइ थियो ।






