रुपनी जि.एम,बर्दिया । प्रतिनिधि सभा तथा प्रदेश निर्वाचन नजिकिएसँगै देशैभरी जस्तै बर्दियामा पनि चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलसंगै स्वतन्त्रका नेता मतदाता रिझाउन व्यस्त छन् । तर बर्दियाको बढैयाताल गाउँपालिका वडा नं। ६ जनतालाई भने चुनावी सर्गर्मीको कुनै रौनकले छुन सकेको छैन ।
यस पटक मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा उनीहरुले आफ्नो घर आँगनमा भोट माग्न हिंडिरहेका उम्मेदवारहरुलाई सिधै आफ्ना मागहरु पुरा गरिने प्रतिबद्धतामा मात्रै भोट हाल्ने बताएका छन् । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक त्याहाँका जनताबाट उम्मेदवारले सजिलै भोट पाउने छैनन् ।
पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्यकालागि क्षेत्र नं. १ को (क) बाट उम्मेदवार बनेका सालिराम अधिकारीलाई स्थानिय खुम बहादुर थापाले सबैको तर्फबाट प्रतिनिधित्व गर्दै आफ्ना माग राखेका छन् ।
उनले उक्त वडाको ३ वटा गाउँमा एनसेलको टावरले काम गर्ने गरी टावर बनाईदिन उम्मेदवार अधिकारीलाई माग गरेका छन् । उनले भने,‘हामीबाट भोट पाउने ईच्छा भए बनवीर, भदोही र जि पुरमा काम गर्ने गरी एनसेलको टावर बनाई दिनुस् । जस्ले हाम्रो ठाउँमा एनसेलको टावर बनाई दिन्छ हम्रो भोट पनि उसैलाई नै हुन्छ ।’
खुम बहादुुर थापा जस्तै भोट माग्न गएका उम्मेदवारलाई वन्य जन्तुको आक्रमणबाट जोगाई दिनेलाई आफुहरुले भोट दिने बताए जीत बहादुर थारुले पनि । जीत बहादुुरले आफ्नो गाउँमा बाघले घर पालुवा जनवारलाई बाँधेकै ठाउँबाट आक्रमण गरेर खाएको बताउँदै बाघ र वन्य जन्तुको आक्रमणबाट सुरक्षा दिन उम्मेदवारलाई आग्रह गरेका थिए ।
उनले भने,‘हामी वन्य जन्तुको विगविगीबाट आक्रान्त भई रहेका छौं । गोठमा बाँधि राखेकै ठाउँबाट बाघले गाई वस्तु बोकेर लगिदिएको छ । भोली मान्छेलाई नै खान के बेर रु हामीलाई वन्य जन्तुबाट जस्ले सुरक्षाको ग्यारेन्टी दिन्छ हामी उसैलाई भोट दिन्छौं ।’ खम बहादुर र जीत बहादुुरले जस्तै भोट माग्न गएका उम्मेदवार अधिकारीलाई उपस्थित बढैयाताल वडा नं. ६ का जनतालले मल र बिऊ समयमै उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
जनताका मागलाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रदेश सभा सदस्यकालागि क्षेत्र नं। १ को ९क० बाट उम्मेदवर सालिकरामले आफु गएको पाँच वर्षमा बाँसगढी नगरपालिकामा मेयर भई रहँदा उक्त स्थानमा एनसेलको तीन वटा टावर बनाएको बताउँदै बढैयातालमा पनि एनसेलको टावर बनाउने प्रतिबद्धता व्यक्त गरे । यस्का साथै उनले जनताका अन्य समस्यालाई पनि आफुले मनन गरेको भन्दै प्रदेश सभा सदस्य भएको खण्डमा समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।






