रुपनी जि.एम, बर्दिया । आसन्न मंसिर ४ गते हुन गई रहेको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट संघिय निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री सञ्जय गौतम उम्मेदवार रहेका छन् । नेता गौतम सोही क्षेत्रबाटै २ पटक सांसद बनेर एक पटक सिंचाई मन्त्री समेत बनेका थिए ।
उनै गौतम यस पटकको निर्वाचनमा पनि फेरी उम्मेदवार बनेका छन् । उनले आफु निर्वाचित हुँदा बर्दियाको विकासकोलागि के गरे र फेरी पनि चुनावी मैदानमा उत्रनुको कारण के हो त ? भन्ने जस्ता प्रश्नमा हिमालय न्यूज हबसंग गरिएको कुराकानीमा उनले जवाफ दिएका छन् ।
निर्वाचनको तयारी कहाँसम्म पुग्यो ?
निर्वाचनको तयारी पुरा भई सकेको छ । यसकालागि विभिन्न समितिहरु बनाई सकिएको छ । नेपाली कांग्रेस, नेकमा माओबादी केन्द्र र समाजबादी पार्टीका प्रचार विभाग समिति, नगर समिति सबै मिलेर वडा स्तरीय कार्यक्रमहरु बनाई सकिएको छ । दिपावली र छठ पर्वपछि ती सबै कार्यक्रममा हामी लाग्ने छौं । सम्भवतः ११÷१२ गतेदेखि प्रचार अभियानले तिव्रता पाउनेछ ।
जनताको घरदैलोमा जाँदा यसपालिको निर्वाचनमा तपाईँले कुनकुन विषयमा प्रतिबद्धताहरु जनाउनु भएको छ ?
हामीले बर्दियाका जनतालाई सुशासनको प्रयाभूूति गराउने प्रतिबद्धता जनाएका छौं । र त्यो सधैंभरी नै गरि रहने छौं । यसका साथै संविधानको रक्षाका गर्ने प्रतिबद्धता गरेका छौं । आर्थिक सुशासन कायम गर्ने प्रतिबद्धता गरेका छौं ।
अहिलेको गठबन्धनले जनतामा नयाँ आशा जगाएको छ । अहिलेसम्मको परिस्थितिलाई हेर्ने हो भने त नेपालको राजनीति दलहरुप्रति नेपाली जनताको वितृष्ना देखिन्छ । तर अहिले यी सबै राजनीतिक दलहरु फेरी एक ठाउँमा बसेर नयाँ सम्भावनाको खोजी गर्दैछन् भन्ने कुराले जनतामा एउटा बेग्लै आशा पलाएको छ । यस्ले एउटा सकारात्मक परिणाम दिन्छ भन्ने मलाई लाग्छ ।
अबपनि बर्दियाका जनताले तपाईँलाई भोट हाल्छन् त ?
योपनि सोधि रहने प्रश्न हो र ? मलाई नहालेर अरु कस्लाई हालछन् त ? म दुई पटक सांसद भएर एक पटक मन्त्री भई सकेको नेता हुँ । मैले यो जिल्लाको सबै समस्या र ती समस्याका समाधानलाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा जनाकार छु । अनि म जत्तिको उम्मेदवारलाई भोट नहालेर अरुलाई हाल्ने त कुरै भएन नि । यस्का साथै हामी त अहिले गठबन्धनमा छौं । हाम्रो नेतृत्व नै ठूलो छ । कतिपय ठाउँहरुमा हाम्रो उम्मेदवारहरु छैनन् भने कतिपय ठाउँहरुमा नेकपा माओबादी केन्द्रका उम्मेदवारहरु छैनन् ।
कतिपयमा समाजबादीका उम्मेदवार छैनन् । त्यसकारण आफ्ना पार्टीले सबै ठाउँमा उम्मेदवारी दिन पाएको भए सबै साथीहरुले अवसार पाउँथे भन्ने कुरा जायज हुन्थ्यो होला । तर यो निर्वाचनमा हुन गई गठबन्धनले आम निर्वाचनमा गएको विगतको न ईतिहास छ नत परम्परा नै । यो एउटा विशिष्ट परिस्थितिमा श्रृजना भएको हो । र हामीहरुले संगै यात्रा गरेऊ । त्यसैले पनि यो हाम्रालागि एउट नयाँ अभ्यास हो । र यो अभ्यासमा म पास हुन्छु भन्ने मलाई पुर्ण विश्वास छ ।
तपाईँको भन्दा पहिला त तपाईँकै पर्टीका नेता अरुण राठोरको उम्मेदवारीले बर्दियामा तरंग नै मच्चायो । त्यसले आन्तरिक प्रभाव पार्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?
पार्दैन । किनभने टिकट प्राप्त गर्नु भन्दा अघि प्राप्तिकालागि एउटा प्रयास गर्ने हो । त्यो मैले पनि गरें र उहाँले पनि गर्नु भयो । निश्चय नै त्यसमा म सफल भएँ । हाम्रो पार्टी एउटै भएको हुनाले एकले अर्कालाई गिराउन हुँदैन भन्ने मलाई विश्वास छ । मप्रति साथीहरुको त्यति ठूलो असहजता छैन । अरुण जी र मेरो कुनैपनि प्रकारको आन्तिरिक मनमुटाव थिएन । उहाँले वास्तवमा यो बर्दिया क्षेत्र नं. १ को लागि टिकटको कुनै त्यस्तो इच्छा पनि गर्नु भएको थिएन ।
म केन्द्रिय सदस्य उहाँ सभापति बर्दिया जिल्लामा लामो समयदेखि उहाँले र मैले नै नेतृत्व गरिरहेका छौं । त्यसैले उहाँ र म बीचमा त्यस्तो कुनै प्रकारको मतभेद हुने ठाउँ नै थिएन । तर राजनीति यस्तै रहेछ । यस्मा विभिन्न खालको फ्याक्टरहरु एक्टिभेट हुने थलो नै राजनीति हो रहेछ । जस्ले गर्दा एउटा परिवेश र परिस्थिति जन्मियो । उहाँ र म बीच नै प्रतिस्पर्धा हो कि भन्ने धेरैलाई लाग्यो पनि । हामी स्वयमले त्यो विषयमा असहज महसुस पनि गर्यौं । जे भएपनि अहिले भने उहाँ र म बीच कुनै त्यस्तो नकारात्मक सोंच छैन । हाम्रो पार्टी एउटै भएको हुनाले मिलेर नै निर्वाचनमा अघि बढ्ने हो ।
तपाईँ मन्त्री भई सकेको मान्छे तर तपाईँकै क्षेत्रले विकासमा भने जस्तो फड्को मार्न सकेन भन्ने जनगुनासो छ नि ? गुनासो गर्ने अवसर किन दिनुुभयो ?
बर्दियामा विकासले गति नलिएको भन्नै मिल्दैन । किनभने पहिलाको तुुलनामा बर्दियाले धेरै नै रुप फेरेको छ । यहाँको मुख्य समस्याका भनेको बाढी पिडितकै थियो । नदी कटान र तटबन्धनकै थियो । म संजोगले सिंचाई मन्त्री पनि हुने मौका पाएको थिएँ । मैले यहाँका नदी नियन्त्रणको सवालमा ऐतिहासिक काम गरेको छु ।
जस्ले गर्दा बर्दियाका जनताले मलाई त्यही कामकै कारण जीवन्त सम्झि रहनेछन् भन्ने मलाई लाग्छ । यहाँका हुलाकी सडकहरु निमार्ण गरेको छु । भारतसंग जोडिने बाटाहरु बनाएको छुु । कच्चि बाटाहरु सबै पक्कि भएका छन् । अहिले बर्दियाको २ वटै निर्वाचन क्षेत्रमा एकैदिन घुम्न सकिन्छ । यी कुराहरुलाई विकासमा फड्को मारेको नभनेर के भन्ने ? मैले गर्न नसकेको एउटै कुरा के हो भने यस क्षेत्रमा भारतसंग नाका स्थापना गर्न एकदमै आवश्यक छ ।
यस विषयमा नेपाल सरकार र भारत सरकार बीच सहमति पनि भएकै हो । तर त्यो कार्यान्वयनको पाटो भने बाँकी नै छ । यो निर्वाचनमा जितें भने मेरो पहिलो प्रथमिकता बर्दियामा भन्सार नाका स्थापना गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने नै रहन्छ । किनभने हाम्रो आत्मनिर्भरताकोलागि पनि बर्दियामा नाका स्थापना गर्ने पर्ने भएको छ । र यस पटकको निर्वाचनमा यो नै मेरो एजेण्डा र प्रतिबद्धता हो ।
५ वर्ष तपाईँ सांसद बनिरहंदा बारबर्दिया र सदरमुकाम जोड्ने पूल भाँच्चि नै रह्यो । अहिले तपाईँ उम्मेदवार बनिरहंदा पूललाई नदीले बगायो । यो विषयमा जनतालाई के भनेर आश्वाशित गर्नुहुन्छ ?
यो कुरामा म पनि उत्तिकै दुुखी छु जति पूल भत्कंदा प्रत्यक्ष प्रभाव पारिएका जनता भएका छन् । तर प्राकृतिक बिपदले निम्त्याउने घटनाहरु मेरो कारणले भएका होईनन् भन्ने जनताले राम्ररी बुझेका छन् । यो त बेमौसमी बर्षाका कारण पूल भत्किएको हो भन्ने कुरा यहाँका जनताहरु आफै भन्छन् ।
मैले भनिरहनै पर्दैन नि । पुल बनाउने जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन र मेरो मिलेमतोमा कमसल सामानको प्रयोग भएको भन्ने विभिन्न अफह्वाहरु प्नि फैलाईएका छन् । यस विषयमा पनि म के प्रष्ट पार्न चाहान्छु भने पप्पु कन्स्ट्रक्सनलाई सस्पेन्स गराउने पनि म नै हुँ । मैले नै गर्दा उस्लाई अख्तियारमा मुद्या परेको हो ।
मुद्या परिसकेको हुनाले भत्काएर नयाँ पूल बनाउन पनि दिएनन् र बनाउने कुरैपनि भएन । यो विषयमा पार्लामेन्टमा कुरा मैले नै उठाएको हुनाले सरकारको ध्यान गएको हो । यी सबै कुराहरु जनताले बुझ्नु नै भएको छ । यसका साथै बर्दिया र बर्दियाको विकासका लागि राष्ट्रिय राजनीतिमा मैले निर्वाह गर्नु पर्ने भूमिका सधैं गरिरहने छु ।






