काठमाण्डौ । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।
डा कार्की लाभको पदमा बहाल रहेकाले उहाँको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजात पठाएको थियो । उम्मेदवार डा कार्की मिति २०७८ साल पुस २ गतेदेखि चार वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको,
नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम २०७९ साल वैशाख ९ गतेदेखि २०७९ साल भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
योपनि तोसिमाले भदौ २८ मै आयोगमा निवेदन दिएको खुलासा, अब अदालत जाने
ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीले आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताएकी छन् । शनिवार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले आफूले उम्मेदवारी मनोनयनको २५ दिन अगाडि नै नेपाल मेडिकल काउन्सिलको पदबारे निवेदन दिएको भएपनि आयोगले सोबारे जवाफ पनि नदिएको जनाएकी हुन् ।
उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने संकेत गरेकी छन् । उनले भनेकी छन्,‘समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समयपछि आएपनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पर्थ्यो ।
यहाँनिर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।’ उनले ललितपुर ३ मा आफ्नो पक्षमा माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्नेगरी आएको निर्णयविरुद्ध अदालत जाने बताएकी छन् ।






