काठमाण्डौ । सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला आयोजना गरेको छ । भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गरेका छन् । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरे ।
उनले नेपाल अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै गठबन्धनका उम्मेदवारहरुले जित्नैपर्ने जिकिर गर्दै सुदूरपश्चिममा एकता जरुरी रहेको बताए । अनेक तत्वहरु संविधानविरुद्ध लागि परेको दाबी गर्दै प्रधानमन्त्री देउवाले संविधान र गणतन्त्रलाई बचाउने कि नबचाउने भन्ने प्रश्न रहेको बताए ।
उनले चुनावमा गठबन्धनले जितेमा सुदुरपश्चिमेलीहरुलाई धेरै अवसर प्रदान गर्ने आश्वासन समेत दिए । पार्टीको टिकट वितरणमा केही कमजोरी भएको स्वीकार गदै उनले गठबन्धनका कारण सबैले टिकट पाउनसक्ने अवस्था नभएको बताए ।






