कास्की । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गर्नुभएको छ । आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन् ।
उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारलाई सचेत गराए । उनले भने,‘रुखलाई हँसिया हथौडामा भोट हाल्न गाह्रो । रुख र हँसिया हथौडालाई कलममा भोट हाल्न गाह्रो । कलमलाई फेरि रुख, हँसिया हथौडामा भोट हाल्न गाह्रो भयो भनेको जस्तो पनि सुनिन्छ ।कतिपयले प्रचार गर्दा आफ्नो त प्रचार गर्छन् तर अर्काको प्रचार गर्दैनन् ।
आफ्नो पार्टीको नभएको उम्मेदवारको त प्रचार गरिँदैन भनेको पनि मैले सुनेको छु । यदि तपाईँहरूमध्ये कसैले चाहे जुनसुकै चुनाव चिह्नको भए पनि मेरोमा चाहिँ हाल्छु अर्कोमा हाल्दिन भने आफ्नै आत्मघात गरेजस्तै हो । तपाईँहरूले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट गर्नुभएन भने तपाईँ पनि जित्नुहुन्न ।’ अध्यक्ष प्रचण्डले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर नै देशमा ठूला–ठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताए ।






