कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शङ्का उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । आज शुक्रबार पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धनमा शङ्का उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले नेता तथा कार्यकर्तालाई सम्झाउँदै गठबन्धन आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक रहेको बताएका हुन् । उनले विगतका कुरा स्मरण गरेर कुनै लाभ नहुने भन्दै देशको भविष्यका लागि सोच्न आवश्यक रहेको बताए । उनले गठबन्धन आजको आवश्यकता रहेको दाबी गर्दै आउँदो चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउनमा लाग्न आग्रह गरे ।
उनले भने,‘हिजोका कुराले केही हुनेवाला छैन । हाम्रो गठबन्धन छ, गठबन्धन आवश्यकता छ । कुनै पनि बहानामा गठबन्धनमा शङ्का पैदा गराउने काम गर्नु हुँदैन । गठबन्धन आग्रह, पूर्वाग्रहबाट मुक्त हुनुपर्छ ।’ प्रधानमन्त्री देउवाले शीर्ष नेताहरू सबै गठबन्धनमा मिलेकाले तल्लोस्तरका कार्यकर्ताले पनि मिलेर जानुको विकल्प नभएको बताए ।






