काठमाण्डौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको गाडी प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावबारे आज सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको गाडी प्रयोग गर्दा उपयुक्त नहुने बताएका हुन् ।
मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको गाडीमा मतपत्र ल्याएको कारणले आफूहरू हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको गाडी प्रयोग नगर्न उनले सुझाव दिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चुनावमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे ।
उनले भने,‘चुनावमा कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नुपर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सुरक्षा निकायलाई त्यहीअनुसार परिचालन गर्नुहोला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको गाडी प्रयोग नगर्ने भन्ने छ । त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुन सक्छ ।
तर चुनाव हार्नेले सुरक्षा निकायको गाडीमा मतपत्र ढुवानी गर्दा आफूले हारेको भन्न सक्छन् । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको गाडी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ ।’ बैठकमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।
उनले चुनावको मौन अवधिमा शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे । चुनावमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन उनले आग्रह समेत गरे ।






