काठमाण्डौ । नेपाली सेनाको सात वर्षको जागिर छाडेर मुक्ति सेनामा लागेर युद्ध गरेका उनले यसअघि कुनै पनि राजनीतिक तथा लाभको पद लिएनन् । ‘काम गर्ने हामी, देशै लुटेर खाने अरू भए । अब त अत्ति भो भनेर पहिलोपटक चुनाव लड्न लागेको हुँ’, उनले भने, ‘२०४७ सालमा किसुनजीले राष्ट्रियसभामा जाने त भनेर सोध्नुभएको थियो । जनताले अझै राम्ररी खान लाउन पाएका छैनन् । हामीले पद लिने बेला भएको छैन भनेर गइन् । हाम्रो रगत खेरा जाने भयो भनेर अहिलेचाहिँ आफैं लडेको हो ।’
आफ्नो निर्वाचन क्षेत्र चाहार्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पर्यो भने युद्ध लड्न सक्छु, निर्वाचन क्षेत्र चाहार्न किन नसक्ने ? बीपीले अन्तिममा भन्नुभएको थियो, सुकिलामुकिला हाबी हुनेछन्, त्यतिबेला फेरि युद्ध लड्नुपर्नेछ । आज त्यस्तै भएको छ।’ १९८० कात्तिक १५ गते जन्मेका उनी १४ वर्षकै उमेरमा नेपाली सेनामा भर्ती भएँ। हुँदाखाँदाको जागिर छाडेर मुक्ति सेनामा भर्ती भए। बीपी, सुवर्ण शमसेर, गणेशमान, कृष्णप्रसादसँग ४ वर्ष जेल बसे। ४ वर्ष निर्वासनमा बसे । २००७, २०१८, २०३६, २०४६ को आन्दोलन लडे ।
उनका सहयोद्धा अहिले कोही छैनन् । उनको योगदान सम्झेर थिरबम मल्ल प्रतिष्ठानले तीन वर्षअघि अभिनन्दन गरेको थियो। त्यसबाहेक उनले कुनै लाभ नलिएका उनका आफन्त सीपी पोखरेल बताउँछन्। ‘एउटा छोरा गाउँमै खेती किसानी गरेर बस्नुहुन्छ । अर्का छोरा प्रेस काउन्सिलको जागिर छाडेर कोरियातिर वैदेशिक रोजगारीमा जानुभयो। अहिले चितवनतिर घरगृहस्थी गरेर बस्छन् । उहाँ पनि अहिलेसम्म लठ्ठी टेक्नु पर्दैन ।’






