काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले जनताको अपेक्षा अनुरुप राजनीतिक नेताहरुले काम गर्न नसकेको बताएका छन् । हिन्दुहरुको महान पर्व दशैंका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले जनताको अपेक्षा अनुरुप राजनीतिक नेताहरुले काम गर्न नसकेका बताउँदै अहिलेको परिस्थितिमाथि प्रश्न उठेको भन्दै नेपाली जनता कठिन समयबाट गुज्रिरहेको बताए ।
उक्त भिडियोमा राजनीतिमा सत्ताको लोभ रहँदा देश र जनताको अवस्था कस्तो हुन्छ ? भनी शाहले प्रश्न गरेका छन् । उनले राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा सिर्जना भएको विकृति र द्वन्द्वले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् । उनले भने,‘जनताको अपेक्षा अनुरुप राजनीतिक नेताहरुले काम नगर्दा देशका नागरिक उत्साहित छैनन् र जनतामा आफ्नो भविष्य र देशको भविष्यप्रति कुनै आशा छैन ।’
विगत डेढ दशकको राजनीतिक अभ्यासले पाठ्यक्रम सुधारको अपरिहार्यता स्थापित गरेको बताउँदै उनले भने,‘आज मुलुकले देशप्रति वफादार र जवाफदेही व्यक्ति, प्रणाली, संस्था र प्रतिनिधित्वको खोजी गरिरहेको छ ।’ उनले देशमा उपयुक्त अवसर नहुँदा वा ती अवसरको खोजी नहुँदा हजारौं युवा रोजगारीका लागि विदेशिने गरेको पनि बताए ।
‘अर्कातर्फ बाहिरीलाई भित्र्याउने र वास्तविक नेपालीलाई लुट्ने षड्यन्त्रमा कौतुहलता र चिन्ता बढ्दै गएको छ,’ पूर्वराजाले भने, ‘दुई ठूला देशको बीचमा रहेको हाम्रो देशको धर्म, संस्कृति र सभ्यता संसारमा, आक्रमण भइरहेको छ ।’ त्यसैगरी, उनले भने,‘हाम्रो राष्ट्रियता र इतिहास अत्यन्तै नाजुक अवस्थामा छ, हाम्रो मौलिक धार्मिक र सांस्कृतिक मान्यतालाई विस्थापित गर्ने प्रक्रिया तीब्र भएको छ, परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय हित र सुरक्षा खतरामा परेको छ । ’
शाहले राष्ट्र, लोकतन्त्र, मौलिक मूल्य मान्यता र नेपाली एकताको रक्षाका लागि देशभक्त नेपालीलाई एकजुट हुन आग्रह समेत गरेका छन् । पुर्वराजाद्धार जारी गरिएको उक्त भिडियो सन्देशमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मध्य केहीले उनको भनाईमा समर्थन गरेका छन् भने केहीले विरोध । उनलाई माया गर्ने र उनका समर्थहरुले सोही भिडियोको मार्फत नै पुर्वराजालाई दशैंको शुभकामना समेत व्यक्त गरेका छन् ।






