काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो चुनावमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् । आज शुक्रबार काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार औपचारिकरूपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आउँदो चुनावमा जाने आफ्नो मूल एजेन्डाबारे प्रस्ट्याएका छन् ।
आफू राजसंस्थाबादी, गणतन्त्रबादी र धर्मनिरपेक्षताबादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनर्स्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । यसरी जाँदा भोट नपाए पनि आफूले खुसीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाइ थियो । उनले भने,‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ ।
म नेपालबादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाइन भनेदेखि खुसीसाथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’ वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाण्डौ क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए ।
उनले आउँदो प्रतिनिधि सभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेन्डालाई हेरेर विजयी गराउने विश्वाससमेत व्यक्त गरे । चुनावमा मतदाताकोमा जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटक–पटक दोहोर्याउँदै उनले गएको चुनावमा पनि आफूले सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा आठ सय १९ मतले हार्नुपरेको गुनासो गरे ।
कार्यक्रममा बोल्दै राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौँ भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आउँदो चुनावमा विजयी गराउन काठमाण्डौ क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरे । उनले ठूला दलहरू देश र जनताका लागि नालायक भएकाले पनि आउँदो चुनावमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने बताए ।






