लमजुङ । नेकपा माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलीय गठबन्धनले निश्चित गरेको बताएका छन् ।प्रेस सेन्टर लमजुङले शुक्रबार लमजुङ कृषि क्याम्पस सुन्दर बजारमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलीय गठबन्धनले निश्चित गरेको बताएका हुन् ।
उनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आपसमा सहकार्य गरी जानेबारेमा पाँच दलीय गठबन्धनले निश्चित गरिसकेको बताए । प्रत्यक्षतर्फका उम्मेदवारको सन्दर्भमा धेरैजसो सिटमा सहमति जुटिसकेको उनले दाबी गरे । ‘शीर्ष नेताहरूले माइन्युट गरी हस्ताक्षर गरिसकेको अवस्था त छैन ।’
उनले भने, ‘तर कार्यदलको एक सदस्यको हैसियतले कार्यदलमा चलेको गृहकार्यका आधारमा एउटा मापदण्डका आधारमा प्रत्यक्षतर्फका ८० प्रतिशतभन्दा बढी सिटमा सर्वसहमति देखिन्छ । खासै विमति देखिदैँन । केही १०र१५ प्रतिशत सिटमा नेताहरूबीचमा गृहकार्य गर्नुपर्ने, छलफल गर्नुपर्ने, ुगिभ एन्ड टेकु गर्नुपर्ने खालका कुरा बाँकी छन् ।’
त्यसका लागि पाँच दलका नेताहरू आपसी सल्लाह गरी, अनुकूल समयमा बैठक बसेर टिकट वितरण हुनुअघि नै टुङ्ग्याउनुपर्ने कुरा भएको उनले जानकारी गराए । लमजुङको हकमा अबको चुनावमा प्रतिनिधि सभातर्फ आफूलाई अघि बढ्न प्रस्ताव भएको र दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदरवालाई अघि बढाउने पाँच दलको कार्यदलस्तरमा सहमति भएको महासचिव गुरुङले बताए ।






