नेपालगञ्ज, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका प्रत्येक वडाबाट जेष्ठ नागरिकलाई भत्ता बितरण कार्य शुरु गरिएको छ । योभन्दा अघि बैंकमा गएर घण्टौ लाईन लाग्नु पर्ने बाध्यताबाट मुक्त भएको भन्दै बाँकेका जेष्ठ नागरिकहरु राष्ट्रिय बाणिज्य बैंकले वडाबाटै दिने भत्ताको विषयमा आफुहरुलाई स्थानिय सरकारले सहुलियत गरेकोमा खुशी भएको बताउँछन् ।
उपमहानगरपालिकाको वडा नं २३ मा वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको हो । बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएको वडा नम्बर २३ का वडा अध्यक्ष अब्दुल गफफारले बताएका छन् । उनका अनुसार वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि जेष्ठ नागरिकलाई निकै सहज भएको छ । वडाध्यक्ष गफफारले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।
वडाध्यक्ष गफ्फार भन्छन्,‘जेष्ठ नागरिक भनेपछि कोही हिंड्न नसक्ने अवस्थाका पनि हुनुन्छ । उहाँहरु वडा आउन पनि सहज तरिकाले सकिरहनु भएको हुँदैन । त्यस्ता जेष्ठ नागरिकको बैँक जानु पर्ने बाध्यता हटेको छ । लाईन त यहाँपनि लाग्नै पर्छ तर यहाँ लाईन लाग्नु र बैंकमा लाईन लाग्नुमा धेरै फरक छ ।’ जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिदा आफूहरुलाई थप खुशि मिलेको उनले बताए ।
वडा नम्बर २३ मा ३ सय ५० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिदै छ । मंगलबार एक सय २० जनाले भत्ता लिएको वडा सचिव भुपिन्द्र कंडेललले बताए । बैँकले अहिले सम्म उपमहानगररको १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको जनाएको छ । उपमहानगरले मंगलबार देखि वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य शुरु गरेको हो ।






