काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने बताएका छन् । देशले विकल्प खोजिरहेको हुनाले नेपाली नागरिकले आसन्न निर्वाचनमा राप्रपालाई पहिलो शक्तिका रुपमा स्थापित गराउनकालागि आफ्ना मत खसाल्न सक्ने बताएका हन् । रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
उनले पार्टीका अगुवा नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिए । उनले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ चुनावको तयारीमा जुट्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान समेत गरे ।उनले भने,‘हामीले ठिक ढङ्गले अगाडि गयौँ भने राष्ट्रिय प्रजातन्त्र पार्टी आउने संसदमै पहिलो पार्टी बन्न सक्छ ।
म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अगाडि बढ्न आग्रह गर्दछु । पछाडि हट्ने होइन, भाग्ने होइन् । देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीवीहरू, राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरू आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस् । हामी योग्य, क्षमता भएका साथीहरूलाई उम्मेदवार बनाउन तयार छौँ ।’
अध्यक्ष लिङ्देनले चुनाव हार र जीतको मैदान भएको बताउँदै चुनावमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई हौसला प्रदान गरे । उनले पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रलगायतका नेताहरूलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गरे । साथै उनले सम्पुर्ण नपाली जनतालाई राष्ट्र निमार्णकालागि राप्रपा बाहेक अरु कुनै पनि दल वा पार्टी योग्यको नभएको सन्देश दिए ।






