चितवन । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओबादी केन्द्र चितवनले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताउँदै जनयुद्धले देशमा व्यवस्था बदलियो तर जनताको अवस्था नबदलिएको बताएका हुन् ।
‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’, उनले भने,‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, समृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र समृद्धिको आवश्यकता रहेको बताए ।
चितवनमा अहिले नमुना विकासको प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र समृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईँहरूलाई प्राप्त हुने छ ।’ चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए ।






