काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिच्ने आरोप लगाए ।
डा. भट्टराईले सङ्घीयतालाई मिच्नेहरूलाई रोक्नका लागि उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए । उनले भने,‘उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिचिदिने काम भइरहेको छ, कोही पनि जिम्मेवारी देखिँदैन । भेटेसम्म यो शक्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्दिने प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नका निम्ति पनि लोकतन्त्रको सदृढीकरणको विषय महत्त्वपूर्ण छ ।
उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ । अमेरिकालगायतका देशका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने ? हाम्रोजस्तो विविधताको देशमा सङ्घीयता नभइ हुँदैन । हामीले कसैलाई दोष दिने होइन, सङ्घीयता राम्रोसँग बुझेनौँ र त्यस ढङ्गले काम गरेनौँ भन्ने कुरा सत्य हो ।’ अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे ।
उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकाङ्की विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, तीन वर्षमा तीन सय दिन ताला लगाएर तलब–भत्ता खाइरहने विश्वविद्यालयका अगुवा, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवी रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे । अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरू नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए ।






