नेपालगञ्ज, बाँके ।‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक बामदेव गौतमले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवराविरुद्ध महाअभियोग दर्ता गरेर अपराध गरेको बताएका छन् । नेपालगन्जमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनको सरकारले प्रधानन्याधीश जवरामाथि महाअभियोग दर्ता गरेर अपराध गरेको बताएका हुन् ।
पत्रकारसंगको कुराकानीमा उनले भने,‘जवरालाई महाअभियोग लगाउनेहरुले गल्ति मात्र नभएर अपराध गरेका छन् । एउटा ब्यक्तिलाई लगेर बीचमा झुण्ड्याइ दिएका छन् । त्याहाँबाट उहाँ न माथी जान सक्नुहुन्छ न तल झर्न नै ।’ पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता गौतमले महाअभियोग लगाउने विषय संबिधानमा उल्लेख गरिएतापनि प्रधानन्यायधीशमाथि लगाईएको महाअभियोग केवल लगाउनका निम्ति लगाईएको होईन ।
उहाँहरुले त अरु कुनै उद्देश्यको निम्ति जवरालाई महाअभियोग लगाउनु भएको हो ।’ जतिसुकै पुष्टी भएपनि पक्ष र विपक्षमा मतदान गरेर दुई तिहाई बहुमतले लागेका आरोप पुष्टी नगर्दा सम्म महाअभियोग नलाग्ने पुर्वगृहमन्त्री गौतमले प्रष्ट पारे । महाअभियोग नलाग्दै जवरालाई महाअभियोग जस्तै गरेर सिध्याउने कोसिस भएको उनले बताए ।
अर्को प्रसंगमा राष्ट्रिय सभामा आफ्नो स्तरको कुनैपनि नेता नभएको बताउँदै नेता गौतमले भने, ‘मेरो जीवनको सुरुवात राजनीतिबाटै भयो, मेरो उद्देश्य नेकपालाई पुनःस्थापित गर्ने हो, आजसम्म पनि मैले त्यो काम छोडेको छैन ।’ विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफूले भ्यायसम्मको विवेक प्रयोग गरेर पुनःब्यूझाउने बताए । राष्ट्रिय सभामा बसेर नेकपा ब्युझाउन नसकेको बताउँदै उनले भने, ‘राष्ट्रिय सभामा त्यो स्तरको माहोल नै छैन, फेरी पनि लाग्ने हो भने एकता गर्न सम्भव छ ।’






