काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९र८० को दोस्रो महिना भदौमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो ।
त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ । हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘चालु आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौँ, मंसिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ, कार्यकारी निर्देशक घिसिङले भने । ‘अब चाडपर्व पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौँ, भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौँ ।’
आईएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप एक सय दशमलव ९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले केही दिनअघि ४ जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो ।
यसअघि प्राधिकरणले ४ जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो । थप ४ जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत् आयोजनाबाट उत्पादित २१२ दशमलव ७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेस गरेको हो । निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव (४ मेगावाटको लिखुखोला)
एु, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माइखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ुएु र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् गृहबाट उत्पादित १०० दशमलव ९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको छ । यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव २ मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलुखोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११ दशमलव ८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको थियो ।






