काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गरेको हो । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरूको फेहरिस्त बोकेर चुनावमा जान निर्देशन दिएको उनले जानकारी दिए । त्यसैगरी गठबन्धन सरकारले देश र नागरिकको अहितमा गरेका कामहरूको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले बताए ।
अध्यक्ष ओलीले नयाँ उम्मेदवार र नेताहरूलाई उत्साहका साथ एमालेलाई बहुमत दिलाउने गरी चुनावमा खट्न आग्रह गरेका छन् । संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने,‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर प्रतिनिधि सभाका सांसदहरूलाई यहाँबाट बिदाइ गरेका छौँ ।
पार्टी अध्यक्षले हामीले सरकारमा बसेका बेलामा गरेका कामहरूको फेहरिस्त बोकेर, त्यसैगरी यो १४ महिनाको अवधिमा गठबन्धन सरकारले देश र जनताको अहितमा गरेका कामहरूलाई लिएर नयाँ घोषणापत्र, नयाँ उम्मेदवारका साथ, नयाँ उत्साहका साथ जनताको बीचमा जान र सानदार तरिकाले नेकपा (एमाले) लाई बहुमत प्राप्त गर्ने गरी चुनाव जिताउनका लागि सबैलाई अनुरोध गरेर आजको बैठक समापन भयो ।’






