काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताए । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो चुनावपछि अनुमान गरिएअनुसार नभएको बताएका हुन् ।
उनले केही नेताहरूको चरम व्यक्तिवाद र अहङ्कारका कारण देश अन्योलको दिशातर्फ गएको बताए । देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको अध्यक्ष नेपालको भनाइ छ । यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै उहाँले विचार र कार्यशैलीमा रूपान्तरणको आवश्यकता रहेको बताए । उनले भने,‘राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ ।
राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढङ्गले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेकोले म अत्यन्तै चिन्तित छु । यो देशलाई यही पाराले, यथास्थितिको हिसाबले अनि गफको हिसाबले अगाडि बढाएर लान सकिँदैन । अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुपर्यो ।’ अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको बताए ।






