बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व केन्द्रिय सदस्य तथा केन्द्रिय प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पदबाट राजिनामा दिएका छन् । शाहले शनिवार आफ्नो फेसबुकवालमा राजिनामा पत्र सार्वजनिक गर्दै राप्रपासँगको ३० बर्षे यात्रामा पूर्णविराम लगाएको जनाएका छन् । उनले राप्रपाले आफ्नो नीति तथा सिद्धान्तबाट विचलित भएको उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले पार्टीले बैचारिक आधारस्तम्भ राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्र, स्थानीय सुदृढ स्वायत्त शासन प्रणाली रहेको, तर एजेण्डा प्राप्तिका लागि राष्ट्रब्यापी आन्दोलनलाई उत्कर्षमा पुर्याउन नसकेको र पार्टीमा राजाका कट्टर विरोधी, विदेशी दलाल र गौ हत्याराहरुलाई पार्टीको निर्णायक गराएको प्रति उनले असन्तुष्टि जनाएका छन् ।
‘राप्रपा अव पार्टीको आदर्श र बैचारिक दृष्टिकोणबाट पलायन भइसकेको र नेपाल आमाको रगत खाने पार्टीहरुसँग सहकार्य गर्दै दुई–चार सिट बढाई संसदमा बार्गेनिङ गर्ने नीति अवलम्बन गरेको प्रष्ट छ,’ उनले राप्रपा अध्यक्ष अध्यक्षलाई बुझाएको राजिनामा पत्रमा उल्लेख छ । आफ्ना मुद्धालाई स्थापित गराउन आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राप्रपा जनतामाझ एक्लै जानुपर्ने उनले औँल्याएका छन् ।
‘राज संस्था र हिन्दू राष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजीको लागि दीर्घकालिन रणनीति बनाएर विद्रोहमा जान राप्रपा तयार हुनुपर्छ,’ शाह अगाडी थप्छन्,‘पार्टीको सैद्धान्तिक आदर्श, बैचारिक आधारस्तम्भसँग प्रतिकुल हुने गरि कार्यनीति अवलम्बन गरिएकोले अव यो पार्टीबाट राष्ट्रवादी आन्दोलन सफल हुने नदेखिएकोले प्रशिक्षण विभागको केन्द्रिय सदस्य पद तथा साधारण सदस्य समेत नरहने गरि आजकै मितिदेखि पार्टी परित्याग गरेको जानकारी गराउँदछु ।’ उनले पार्टीमा रहेर तीन दशकसम्म सेवा गर्ने अवसर दिएकोमा नेता, कार्यकर्ता र शुभचिन्तकलाई धन्यवादसमेत दिएका छन् ।







