काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले भने,‘संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।’ उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए । उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे । ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु देशलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखे ।
पूर्वप्रधानमन्त्री ओलीले चुनावको मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताए । उनले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र चुनावका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत चुनाव परिचालन गर्नुपर्ने सुझाव दिए ।






