काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सत्ता गठबन्धन विदेशी शक्तिहरूको आडमा आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि हालतमा हराउन सक्रिय रहेको बताएका छन् । वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात रहेकाले उनीहरू आगामी निर्वाचनमा कुनै पनि अवस्थामा एमालेलाई उठ्न नदिने खेलमा लागेको बताए ।
शनिबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो समय देशमा विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा वर्तमान सत्ता गठबन्धनका दलहरूले नै मुख्य भूमिका खेलेको बताए । ‘वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात छ । कुनै सम्झौता नगरी भारतसँग नाकाबन्दीको सामना गरेको र लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने साहस गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई र एमालेलाई उठ्न नदिने पक्षमा विदेशी शक्तिहरूले सत्ता गठबन्धन निर्माण गरेका हुन् ।’
उनले भने,‘त्यसैले वर्तमान गठबन्धन एमालेलाई कुनै पनि हालतमा चुनाव हराउनका लागि सक्रिय रहेका छन् ।’ अध्यक्ष थापाले वर्तमान सत्ता गठबन्धनका दलहरूले चुनावमा सिन्डिकेट खडा गरेको आरोप लगाए । सत्ता गठबन्धनका दलहरू एक्लै एक्लै चुनावमा जाँदा हारिने डरले गठबन्धन गरेर सिन्डिकेट खडा गरेको उनले बताए । युवाहरूले आउने निर्वाचनलाई सामान्य ढंगबाट हेर्नु नहुने भन्दै राजनीतिक दलहरूभन्दा माथि उठेर देशको भविष्यको बारेमा सोच्नु पर्ने बेला आएको उनको भनाई छ ।
‘विगतको १० वर्षमा ११ वटा सरकार फेरबदल भए । त्यसबाट दिक्दार भएर देशमा राजनीतिक स्थिरता र विकासका लागि तत्कालीन नेकपालाई दिएको दुई तिहाइ मत दिए पनि त्यसले कदर हुन सकेन । जनताले दिएको म्यान्डेट अनुसार काम हुन सकेन । स्वार्थ र कसले कति कमाउने भन्ने भागबण्डा नमिल्दा र विदेशीको चलखेलको कारणले गर्दा नेकपा तिन टुक्रामा विभाजन हुन पुग्यो ।
केपी शर्मा ओली नेतृत्वको सरकार ३ वर्षमा नै ढल्यो । राजनीतिक अस्थिरताको शृङ्खला सुरु भयो । केपी शर्मा ओलीले राजनीतिक अस्थिरतालाई रोक्न ताजा जनादेशका लागि निर्वाचनमा जान प्रतिनिधिसभा विघटन गरे । तर, अनेक चलखेल र तिकडम गरेर अदालतको परमादेशबाट त्यसलाई रोक्ने काम भयो,’ उनले भने । उनले सत्ता गठबन्धनको सरकार बनेदेखि यता जनताले शान्ति स्थायित्व प्राप्त गर्न नसकेको बताए ।
गठबन्धनको सरकार ३÷३ महिनामा भाग पुर्याउन मन्त्रीहरू फेर्नमा नै व्यस्त रहेको उनको आरोप छ । अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको समेत बताए । उनले विदेशीहरूको चलखेलका कारण राष्ट्रियता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे ।






