काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन् । काठमाण्डौमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको बताउँदै गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले भने,‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने, आँच पुर्याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ ।
यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको एक सय दिनका कामहरू भनेर उल्लेख गरेको पुस्तिकामा चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ । यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने रु यस्ता कुराहरू जनताले बुझ्नुपर्छ । देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने ?’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए । उनले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।
उनले गठबन्धन सरकारले संसद्को राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्ने गरी बाटो खोलेको भन्दै खेद प्रकट गरे,‘नागरिकता विधेयकमा हाम्रो अडान के हो भने आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ, जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ ।
तर अहिले के गरियो भने सीमापारिबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो, भोलिपल्ट नागरिकता दियो, पर्सि जननिर्वाचित प्रतिनिधि भयो, यो उचित हुँदैन । अहिले सत्ता टिकाउने, सरकारमा बस्ने नाममा, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कुराहरू भएको छ । जसको निन्दा र भर्त्सना गर्नुपर्दछ ।’ उनले भने । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे ।
उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । उनले रणनीतिक महत्त्वका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको ? भनेर प्रश्न समेत गरे । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकका हक हित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताएका थिए ।






