नेपालगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख दिला शाहले राज्यको प्रत्येक निकायमा बसेका व्यक्तिलाई व्यावसायिका कुरा सुन्ने फुर्सद नभएको आरोप लगाएकी छन् । सोमबार नेपालगञ्जमा नव उद्यमशालाको समूदघाटन समारोहलाई सम्बोधन गर्दै उनले उद्यमीका विषय राज्यका विभिन्न तह र तप्कामा बसेकाहरुलाई कुनैपनि चासोको विषय नभएको भन्दै उनीहरुलाई यस्तो आरोप लगाएकी हुन् ।
घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जका नगर प्रमुख शाहले अबका दिनहरुमा राज्यका प्रत्येक निकायलाई महिला उद्यामीका विषयमा ध्यानाकर्षण गराउन स्वयम महिलाहरु नै लागि पर्नेमा जोड दिईन् । उनले भनिन्,‘व्यावसायिक रुपमा हामी स्वयम नै परिपक्क भएर लाग्नु पर्छ । हाम्रो परिपक्कताले मात्रै हाम्रा उद्यमशीलताका विषयमा राज्यको ध्यानाकर्षण गराउन सक्छौं । राज्यलाई झकझकाउन सक्छौं ।’ साथै उनले नेपालगञ्जलाई चिनाउने विशेष गरी दुधबाट बन्ने परिकार ‘रावडी’ लाई राष्ट्रिय र अन्तराष्ट्रि बजारसम्म लैजान आवश्यक रहेको पनि बताईन् । यसका लागी महिला उद्यमीहरुलाई नै अग्रसर हुन सुझाव समेत दिईन् ।
‘बाहिरबाट आउने आन्तरिक होस् या बाह्य जुनसुकै पर्यटककालागी नेपालगञ्ज आउँदा खानको लागि विशेष चिनारी भनेको रावडी हो । यस्लाई हामीले स्वदेशसंगै विदेशमा पनि बजारीकरण गर्न सक्यौं भने नेपालगञ्जको पहिचान देश व्यापि रुपमा हुनुका साथै विदेशमा समेत हामीले बजार तताउन सक्छौं ।’ नयाँ उद्यमीहरुलाई सुझाव दिंदै उनले भनिन्,‘कुनैपनि व्यावसाय गर्नु पुर्व आफुले गर्ने व्यावसायको बारेमा अध्ययन गरेर गर्न आवश्यक छ । अध्ययन गरेर शुरु गरेको व्यावसायबाट कहिल्यैपनि घाटा बेर्होन पर्दैन ।’ शाहले नेपालगञ्जलाई आर्थिक रुपमा सक्षम गराउन यस क्षेत्रबाट धेरैभन्दा धेरै राजस्व बृद्धि हुनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा प्रमुुख अथितिका रुपमा रहेका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिला उद्यमीहरुलाई बैंकिंग कारोबारमा कुनै प्रकारको अहयोग भए त्यस्तो अवस्थामा पालिकाले बैंकसंग समन्वय गरेर सहयोग गर्ने बताएका छन् । नगर प्रमुख विष्टले महिला उद्यमीहरुलाई बैंकले ऋण दिन आनाकानी गरेको खण्डमा पालिकालाई जानकारी गराउन सुझाव दिंदै उक्त बैंकसंग पालिकाले समन्वय गर्ने बताएका हुन् ।
उनले भने,‘नेपालगञ्ज व्यापारिक हबका रुपमा चिनिएतापनि यस क्षेत्रमा महिला उद्यमीहरुको संख्या न्यून नै रहेको छ । उद्यमीका रुपमा चिनिएकाहरुले पनि विभिन्न खालका आर्थिक मन्दिको सामना गर्नु परिरहेको छ । पुराना र नयाँ महिला उद्यमीहरुलाई उद्यम गर्नकोलागी आवश्यक पर्ने सबै खाले सहयोग पालिकाद्धारा गरिने छ । विशेष गरेर आर्थिक रुपमा आवश्यक हुने सहयोगमा बैंकहरुसंग समन्वय गर्न यो पालिका कहिल्यै पनि पछि पर्नेछैन । यस क्षेत्रलाई महिला उद्यमशिलताको क्षेत्रको रुपमा चिनाउनकालागी पालिकाले गर्नु पर्ने सबै प्रकारका सहयोगमा पालिका सधैं साथमा रहनेछ ।’
उक्त कार्यक्रममा GIZ का आर्थिक विकास सल्लाहाकार रामचन्द्र लामिछाने र अन्तरप्रेरणाका कार्यक्रम अधिकृत असिम श्रेष्ठले यस क्षेत्रलाई आर्थिक बृद्धि बिकासका लागि उद्यमीहरुको सक्रियता आवश्यक रहेको बताउँदै नेपालगञ्जका उद्यमीहरुलाई आफ्ना साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्य, GIZ को सहयोग, अन्तरप्रेरणा प्रा.ली र नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।






