काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड पक्राउ परेको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यो घटना लाइनमा नबसेको कारणले नभइ आफ्नो अङ्गरक्षकमाथि दुर्व्यवहार गरिएको कारणले भएको दाबी गर्दै घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका हुन् ।
उनले लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई मन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै तीव्र आलोचना हुन थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका हुन् । मन्त्री श्रेष्ठले सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्र हुन लागेको भन्दै सजक हुन पनि सबैलाई आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वाभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभइ म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन र सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’
गएको शुक्रबार ठमेलमा रहेको छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड शेरजङ्ग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको छ ।







