काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
क्यानडा जानका लागी पत्नीको बायोमेट्रिक गराउन ठमेलस्थित छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यसपछि मन्त्रीका पिएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएसपी भरत बोहराले बताए । एसएसपी बोहोराका अनुसार सुरक्षा गार्ड गुरुङ सेक्युरिटीबाट छायाँ सेन्टरमा खटिएका थिए ।






