नेपालगन्ज । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई युवाको एक समहुले अवरोध गरेका छन् । शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित हनुमानगढी परिसरमा रहेको एक तले भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई युवाका समुहले अबरोध गरेका थिए । मन्त्री राईलाई युवाको जमातले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।
दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको भवनको उद्घाटन र शिलालेख राख्न खोज्दा युवाको एक समुहले मन्त्री राईलाई अवरोध गरेको थियो । युवाको उक्त समुहले अवरोध गरेपछि त्यहाँ उपस्थित दुईपक्षबीच दोहोरो चर्काचर्की समेत भएको थियो । आक्रोशित युवाको उक्त समुहले भवनमा राखिएको शिलालेख भत्काउँदै उनीहरुले मन्त्री राईलाई त्यहाँबाट जान दाबाब समेत दिएका थिए ।
निर्वाचनको मुखमा मतदातामाझ आफ्नो प्रभुत्व कायम गर्न राजनीतिक मुद्दा बनाएको भन्दै मन्त्री राई र भवन उद्घाटन गर्न ब्यवस्थापन मिलाउने विरुद्ध युवाको उक्त समुहले चर्को आलोचना र नाराबाजी समेत गरेका थिए । मन्त्री राई लगायतका ब्यक्तिहरुमाथि युवाको उक्त समुह खनिएपछि अवस्था असामान्य बन्ने भन्दै मन्त्री राई लगाएतको समुह त्यहाँबाट बाहिरिएको थियो ।






