बाँके । अर्थ मन्त्री जनार्दन शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले शुक्रबार उक्त क्षेत्रको अवलोकन गरेका थिए । वर्षायाममा पानी नपरकै कारण सुख्खा बन्न पुगेको उक्त क्षेत्रका किसानलाई सान्तवना दिंदै मन्त्री शर्माले किसानहरुलाई नआत्तिन आग्रह गरेका थिए । उनले त्याहाँका किसानहरुलाई भेटेर सुख्खाकै कारण खेत बाँझो भएर धान रोप्न नपाएतापनि सरकारले कसैलाई भोकै बस्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘तपाईँहरु नआत्तिनुस् यहाँका कुनैपनि किसान र किसानका छोराछोरीलाई भोकै बस्न दिनेछैन । यहाँको अवस्थाले मलाई मर्महित बनाएको छ । यसको विषयमा मैले परिषदमा गएर कुरा राख्नेछु । र तत्काल राहातको केन्द्रीय सरकारबाटै व्यवस्था गराउनेछु ।’ अर्थ मन्त्री शर्मा नरैनापुरका स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुका साथै मन्त्री शर्मा गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गरेका थिए ।
प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य मन्त्रीलाई जानकारी गराउनु भएको थियो । स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मन्त्री शर्माले तत्कालका लागि के गर्न सकिन्छ र बाँझो खेतलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा निष्कर्श निकालेर अगाडी बढ्ने बताएका थिए । सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै किसानलाई राहत दिन माग गरेका थिए ।

सो क्षेत्रमा सिंचाइको लागि हरेक वडामा तीन तीन वटा डिप बोरिंग जडान गरेर अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न मन्त्री शर्मालाई अध्यक्ष शाहले आग्रह गरेका थिए ।
मन्त्री शर्मासंगै लुम्वीनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेत, नरैनापुर १ का वडा अध्यक्ष इशाक जोहाल, २ का वडा अध्यक्ष महसुद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का वडा अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण मौर्य लगायतको टोलीले नेपाल भारतको सिमासम्म स्थलगत निरिक्षण पनि गरेको थियो ।
वर्षा नभएर शतप्रतिशत सुख्खा भएपछि यस अघि गाउँ कार्यपालिकाको बैठकले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरि ८० प्रतिशत करमा छुट दिने निर्णय गरेको थियो । जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सो पालिकामा तीन हजार सात सय हेक्टर खेती योग्य जग्गा रहेकोमा २६० हेक्टरमा मात्र सिचाई सुविधा रहेको र अहिले पानी नपर्दा ती सबै सिचाईका श्रोत पनि सुकेकोले पानी नआएको गाउँपालिकाले जनाएको छ ।
अनुगमनमा पुगेका मन्त्री शर्मालाई नरैनापुर गाँउपालिका अध्यक्ष शाहले खादा र टोपी लगाएर स्वागत गर्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले गाँउपालिकाको डाइरी हस्तान्त्रण गरेका थिए । कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गरेका थिए ।






