काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै नै चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् । शुक्रबार प्रशिक्षणका लागि सुर्खेत आएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चितनवन–३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।
उसो भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’ साथै प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट पारे । उनले भने,‘ओलीले गरेका प्रतिगमनकारी कुराहरुको छिनोफानो नभएसम्म एमालेसँग तालमेलको कुरा असम्भव छ ।’
योपनि नेकपा (माओबादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले चुनावपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको बताएका छन् । कर्णालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको भनाइ छ । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,‘कर्णाली माओबादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो ।
हामी यो पटक चाहन्छौं कि संघमा पनि प्रदेशमा दुबैमा सन्तुलित तरिकाको तालमेल होस् । हाम्रो कर्णालीको प्रभाव र जनमत अनुसार नै तालमेल हुने गरी अघि बढ्ने तयारी भइरहेको छ ।’ प्रचण्डले ०७४ मा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही रुपमा मिस गरेको बताए । ‘आगामी निर्वाचनमा त्यो मिस नहुनेगरि सन्तुलित तालमेल हुन्छ,’ उनले भने, ‘यसो भएको खण्डमा आउने दिनमा माओवादीको सरकार बनाउने स्थिति हुन्छ ।’
अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको पनि बताए । ‘सायद केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्दै छ,’उनले भने,‘ चुनावमा घोषणापत्र एउटै हुने तर्फ हाम्रो प्रयास भइरहेको छ । यद्यपि चुनाव चिन्ह भने आ–आफ्नै हुन्छ ।’






