काठमाण्डौ । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ । बिहीबारको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिए ।
अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः ५९ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ । उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए । अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उनले प्रश्न गरे । उनले त्यसको जवाफ दिन पनि माग गरेका छन् । सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पारे । रासस






