बाँके । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँके नैरैनापुरका किसानलाई राहतको व्यवस्था गराउने बताएका छन् । मन्त्री अथकले उक्त सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको सोमबार अनुगमन गर्दै त्याहाँका किसानहरुलाई तत्काल राहतको व्यवस्था गराउने बताएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका यस वर्ष सुख्खा ग्रस्त पालिका घोषित भएको छ । सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई गत साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरका जनतालाई राहत प्याकेज दिन माग गरे पनि प्रदेश र संघीय सरकार मौन भएर बसेका बेला मन्त्री अथक सोमबार नरैनापुर पुगेर सुख्खा ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले कृषकहरुलाई उचित राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुनुका साथै ९० प्रतिशत रोपाई हुन नसके पछि त्यो क्षेत्रमा ठूलो मानवीय विपद तथा खाद्य संकट आउने विषयलाई ध्यानमा राखी संघीय सरकारबाट तत्काल राहतको प्याकेज उपलब्ध गराउने मन्त्री अथकले जिकिर गरे ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्र का कृषकहरुलाई राहत दिन माग गरेका थिए । अनुगमन गर्न नरैनापुर पुगेका मन्त्री अथकलाई गाँउपालिका अध्यक्ष शाहले नरैनापुरका नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नु पर्ने माग गरे । मन्त्री अथकले नरैनापुरमा तत्काल डिप बोरिङको व्यवस्था गर्ने बताए ।
घरमा भएको अन्न रोपिसकेको तर खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके तर पानी नपरेर रोपेको खेत पनि खडेरी भए पछि अलपत्रमा परेका छन् ।’ मन्त्री अथक संगै गाँउपालिका अध्यक्ष शाह, उपाध्यक्ष जयनती देबी श्रीवस्ताव, वडा अध्यक्षहरु मसुद शाह, मनोज शर्मा लगायतको टोलीले अनुगमन गरेको थियो ।






