काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फोहोर व्यवस्थापनकालागी बञ्चरे डाँडाको समस्या समाधान नभए सङ्घ, प्रदेश र पालिका सबै जिम्मवार हुनु पर्ने बताएका छन् । काठमाण्डौ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताउँदै शुक्रबार काठमाण्डौमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाण्डौको फोहर उठाउन नसक्नु लज्जास्पद भएको भन्दै यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । उनले फोहर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्ने बताए । ‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । कही स्वतन्त्रहरू, कहीँ दलहरू जिम्मेवारीमा पुग्छन् ।
तर तीन तहको सरकार हुँदा पनि काठमाण्डौमा बिहान र बेलुकाको गरेर दुई खेपको फोहर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । काठमाण्डौजस्तो सहरमा फोहर उठाउने कुरा र यसको दीर्घकालीन समाधानका बारेमा सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्छ ।’ उनले भने । महामन्त्री शर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाका नागरिककको मागको पनि सरकारले सम्बोधन गर्नुपर्ने बताए ।






