काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न आग्रह गरेका छन् । केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका क्रममा अवरोध भइरहेको भन्दै उहाँले यस विषयमा हल खोज्न मद्दत गर्न आग्रह गरेका हुन् ।
‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु( पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ( अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’ उनले भने ।
गगन थापाका भनाई जस्ताको त्यस्तै
‘काठमाण्डौ फोहोरले अस्तव्यस्त भएको छ । यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ । अतः सिस डोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु । कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ ।
निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ(हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? केही सम्झौता कामनपाले गरेको छ । महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ । सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ । विश्वास गरौँ ।
कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय छन् । सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ । यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ ।
केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पुरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ।हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ । नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु ।
पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ । अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् । सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ ।’






