नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिले बिहीबार कर्मचारी उपस्थितिलाई लिएर आफ्नै कार्यालयमा छड्के चेकजाँच गरेका छन् । नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा कर्मचारीको उपस्थिति जाँच गर्न छड्के गरेका थिए । छड्केका क्रममा नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको थियो ।
अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहिवार १०।२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा ३२ जना कर्मचारीहरु अनुपस्थित रहेको पाइएको हो ।
नगर प्रमुख विष्टले हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु समेत अनुपस्थित बताएका छन् । कार्यालय समयमा गयल कर्मचारी मध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो । नगर प्रमुख विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिति जनाउन निर्देशन दिएको छ ।
पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनुगमन गर्ने जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहिवार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनुगमन गरेको छ । यसअघि उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा छड्के गरेको थियो । यो समाचार नेपालगञ्ज न्यूजमा रहेको छ ।






