काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीले हार्नै नमिल्ने तर्क गरेका छन् । आफ्नो पार्टीले त्यो चुनाव हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको भनाई थियो । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आउँदो चुनाव जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।
सत्तारूढ गठबन्धन र त्यसका नेताहरूले देशलाई दुरगतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा विजयी हुनुको विकल्प नभएको बताए । उनले भने, ‘मुख्य फोकस चाँहि चुनावको तयारीमा काम गर्ने हो । अहिलेको चुनाव हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ ।
राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाइरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । तर एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुर्गतिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ ।
यिनको कुनै गन्तव्य नै छैन । अब मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेब । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्ता–यस्ता गन्तव्य लिएर हिँडका छन् यिनीहरू । त्यसका लागि जे पनि गर्छन् । यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन् । माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या । उनको गन्तव्य–सन्तव्य केही पनि छैन ।’
अध्यक्ष ओलीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले सङ्गठित ढङ्गले इमानदार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे । पार्टीको सरकार नढल्नका लागि पनि आउँदो चुनावमा बहुमत चाहिने र त्यसका लागि इमानदार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने आकाङ्क्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोड्ने दृढतासमेत व्यक्त गरे । यो समाचार उज्यालोमा छ ।






