नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले आफुलाई भीडदेखि डर लाग्ने बताएका छन् । देश दौडाहाका क्रममा बिहीबार नेपालगन्जमा आयोजिक राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला कार्यक्रमलाई सम्बोधन गर्न नेपालगञ्ज आई पुगेका अध्यक्ष लामिछानेले भीडले नेतालाई माथि लैजान्छ भने यही भीडले नै नेतालाई तल पछार्छ भन्दै रवीन्द्र मिश्रको उदाहरण दिएर आफुलाई अर्को रवीन्द्र मिश्र बन्ने चाहाना नभएको बताएका हुन् । नेपालगञ्का जनतालाई सम्बोधन गर्र्दै उनले भीडको आफुलाई भर भएतापनि त्यही भीडको डर लाग्ने गरेको बताए ।
उनका शुभ चिन्तकहरुले उनलाई केही समय अझैं पर्खन सुझाव दिईरहेको प्रसंगलाई कोट्याउँदै अध्यक्ष लामिछाने भन्छन्,‘मसंग कुर्ने अब समय छैन । आउनेहरु आउँदै गर्छन् जानेहरु जाँदै गर्छन् । म त हिंडे मेरै बाटो खुट्टा तान्दै गर ।’ उनी भन्छन्,‘यो यात्रामा मान्छे सच्चा मन लिएर अगाडी बढ्छ उस्ले धेरै चिन्ता गर्नु पर्दैन । तर फेरीपनि मलाई डर यही भीडको नै छ । जस्को मलाई भर छ उसैको मलाई डर पनि छ ।’ रबिले आफु सञ्चार जगतबाट राजीनामा दिंदै राजनीतिको नाममा लाजनिती गर्न नआएको बताए ।
उनले देशको रक्षा गर्न र सुरक्षा नीतिलाई अझ सशक्त बनाएर चलाउन राजनीतिको रुप र पुरै नक्सा फेर्न आवश्यक रहेको बताए । ३० बर्ष लामो नेपाली राजनीतीलाई नजिकैबाट नियालेको बताउँदै उनले भने,‘अब भयो पुग्यो, देश चलाउने पालो अब हामी युवाहरुको हो । त्यसैले देशमा रहेको विद्यमान विषम परिस्थिति र बेतिथीलाई चिर्न राजनीतिमा आएको हुँ ।’ विभिन्न दलका शिर्ष नेताहरुलाई चेतावनी दिंदै उनले भने,‘यो देशलाई खोक्रो पारेका मानिसहरुलाई एउटा टेलीभिजन कार्यक्रमबाट त व्याण्ड बजाएको थिए भने राज्यसत्ता चलाउन पाए देशमा ठुलै व्याण्ड बजाउने छु ।’






