काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । हाल जेलमा रहेका चौधरीले निर्वाचनको तयारीका विषयमा कानुन व्यवसायीसँग छलफल गरिरहेको पनि उनले बताईन् ।
अध्यक्ष श्रेष्ठका अनुसार उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन विस्तारको काम पनि गरिरहेको छ । २०७४ सालको निर्वाचनमा रेशम निर्वाचित भएको कैलाली–१ मा भने अध्यक्ष श्रेष्ठ उम्मेदवार हुने भएकी छन् ।
अघिल्लो निर्वाचनमा आफ्नो पति निर्वाचित भएको क्षेत्रमा अहिले आफूले उम्मेदवारी दिने तयारी गरिरहेको श्रेष्ठको भनाइ छ । ‘रेशम चौधरी उक्त क्षेत्रबाट यस अघि अत्याधिक मतले जित्नु भयो । तर कानुनी जटिलताले जनताको सेवा गर्न पाउनु भएन । यसपटक जनताले उहाँको प्रतिनिधिकै रुपमा मलाई विजयी गराउने छन् भन्ने आशा लिएकी छु ।’ श्रेष्ठे भनिन् ।
उता वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ज्यान मुद्दामा कारागारमा रहेका रेशम चौधरी सांसदको उम्मेदवार हुन नपाउने बताउँछन् । ‘यसअघि फरार रहेको बेला रेशमलगायत टीकापुर घटनाको मुद्दामा कुनै फैसला भएको थिएन । अहिले जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएको अवस्था छ । यस्तोमा उम्मेदवारी दिन सक्ने कुनै गुन्जाइस छैन ।’ उनले भने ।






