नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गरेका छन् । देशभरमा साक्षर घोषणा भएका जिल्लाहरु मध्ये बाँके ६१ औं जिल्लामा पर्दछ । साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताए ।
बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरिएको थियो । खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो । २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैया प्राप्त गरेको थियो ।
बाँकेलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको बताउँदै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै पालिकाहरुले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान संचालन गर्नुपर्नेमा समेत जोड दिए । बाँकेका ८ वटै पालीकालाई साक्षर घोषणा गरीएसँगै जिल्लालाई साक्षर घोषणा गरीएको हो ।






